वीरगञ्जमा भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्नका लागी मेयर सिंहले ड्रोन उडाएर
वीरगञ्जमा भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्नका लागी मेयर सिंहले ड्रोन उडाएर
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणाली लागू गर्न शुक्रबारबाट ड्रोनमार्फत भू–सर्वेक्षण कार्य सुरु गरेको छ। नेपाल–भारत सीमा नाका शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्यको औपचारिक शुभारम्भ भएको हो।
महानगरका मेयर राजेशमान सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुआत गर्दै भू–तथ्यांक व्यवस्थापनले महानगरको विकासलाई थप वैज्ञानिक र व्यवस्थित बनाउने बताए।
मेयर सिंहका अनुसार सहरीकरण र जनघनत्वको तीव्र वृद्धिसँगै तथ्यांक आधारित नीति निर्माण र कार्यान्वयनमा कठिनाइहरू आउँदा महानगरको समुचित विकासमा अवरोध भइरहेको थियो। यो नयाँ प्रणालीले तथ्यांक संकलनमा सहजता ल्याई कर प्रणालीमा सुधार ल्याउने र कर संकलनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
यस परियोजना अन्तर्गत महानगरका ३२ वटै वडाको भू–तथ्यांक संकलन गरिनेछ। युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको ‘डाटा फर डेभलपमेन्ट’ कार्यक्रमअन्तर्गत सुरु भएको यो भू–सर्वेक्षण कार्यमा नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को प्राविधिक साझेदारी रहेको छ।
नक्सा प्रा.लि.का अनुसार, १० दिनभित्र सबै वडाको तथ्यांक संकलन गर्ने योजना रहेको छ, जसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याइनेछ। यो सर्वेक्षणले भू–तथ्यांक व्यवस्थापनसँगै वैज्ञानिक ठेगाना प्रणाली लागू गरि वीरगञ्जलाई स्मार्ट सिटीको रूपमा विकास गर्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।